काठमाडौं उपत्यका लगायत देशका मुख्य सहरी क्षेत्रमा डेंगु संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरूसँग मिलेर 'लार्भा खोज र नष्ट गर' महाअभियान सुरु गरेको छ।
काठमाडौं महानगरपालिकाका सबै ३२ वटै वडामा महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिएको छ। घरका छत, गमला, पुराना टायर, पानी जम्ने नाली र कुलरहरूमा जमेको पानी नष्ट गर्ने कार्य भइरहेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकका अनुसार एडिस एजिप्टाई लामखुट्टेले सफा पानीमा फुल पार्ने भएकाले नागरिक आफैं सचेत हुनु सबैभन्दा ठूलो उपाय हो। ज्वरो आउने, आँखाको गेडी दुख्ने र जिउ गल्ने लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई रगत परीक्षण गराउन अपिल गरिएको छ।
सरकारले उपत्यकाका सबै सरकारी अस्पतालहरूमा डेंगु परीक्षण किट र सिटामोलको पर्याप्त भण्डारण सुनिश्चित गरेको जनाएको छ।
