कर्णाली राजमार्ग पटक-पटक पहिरोले अवरुद्ध हुँदा जुम्ला, कालिकोट र मुगुका किसानहरूले उत्पादन गरेको सयौँ टन अर्गानिक स्याउ बगैँचामै कुहिन थालेको छ। राजधानी काठमाडौंका फलफूल बजारहरूमा विदेशी र भारतीय स्याउ महँगो मूल्यमा बिक्री भइरहँदा कर्णालीका किसानहरूले भने प्रतिकिलो २० रुपैयाँमा पनि व्यापारी पाउन सकेका छैनन्।
कालिकोटका किसान पदमबहादुर शाही रुन्चे स्वरमा भन्छन्— 'बोटैभरि लटरम्म स्याउ फल्यो, तर बजार लैजाने बाटो छैन। गाडी भाडा तिर्दा स्याउ बेचेको पैसाले पनि पुग्दैन। सरकारले शीतभण्डार (कोल्ड स्टोर) बनाइदिने भनेको वर्षौँ भयो, तर अझै बनेन।'
स्थानीय तहका जनप्रतिनिधिहरूले कृषि एम्बुलेन्स र ढुवानी अनुदानको घोषणा गरे पनि वास्तविक किसानसम्म त्यो राहत पुग्न नसकेको कृषकहरूको गुनासो छ। कृषि विज्ञहरूले कर्णालीमा तत्काल कम्तीमा १० हजार मेट्रिक टन क्षमताको आधुनिक शीतभण्डार र प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने औँल्याएका छन्।
अनलाइन आवाजको 'किसानको आवाज' अभियान अन्तर्गत हामीले कर्णालीका कृषकहरूको यो मर्मस्पर्शी समस्यालाई सम्बन्धित कृषि मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएका छौँ।
